Listen Live

स्थानीय र प्रहरी बीच झडप ः दुई प्रहरी घाइते, नौं जना पक्राउ

स्थानीय र प्रहरी बीच झडप ः दुई प्रहरी घाइते, नौं जना पक्राउ
       पुस १३, २०७५
        रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रहरी र स्थानीय बीच झडप हुँदा दुई  प्रहरी घाइते भएका छन । सडक निर्माणको अवरोध हटाउन  गएका प्रहरी र स्थानीय बीच झडप हुँदा प्रहरी हवल्दार निर्मला वि.क. र प्रहरी जवान टेकबहादुर बस्नेत घाइते भएका हुन । घाइते प्रहरीको ढाड र टाउकोमा चोट लागेको बताइएको छ ।  चौरजहारी नगरपालिका –७ मेलैनाउली स्थित सडक निर्माणको क्रममा स्थानीयले स्काभेटरको चाबी खोसेर काममा अवरोध गरेका थिए ।   
       मेलैनाउलीका स्थानीयले पहिले देखिनै सञ्चालन भइरहेको बाटोलाई निरन्तरता दिन माग गर्दै स्काइभेटरको चाबी हातमा  लिंदा विवादले उग्ररुप लिएको थियो ।  अवरोध हटाउन गएका प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले नौं जनालाई पक्राउ गरेको छ । प्रहरीमाथि आक्रमणको आरोपमा चौरजहारी नगरपालिका – ४ का २८ वर्षका निरज भण्डारी, सोही ठाउँका ३० वर्षका प्रकाश भण्डारी, वर्ष ३३ का चन्द्रबहादुर खड्का, वडा ८ नम्बरका २८ वर्षका सविन बुढाथोकी र ३२ वर्षका बालाराम जैसीलाई प्रहरीले पक्राउ गरेको छ ।  त्यसैगरी सोही नगरपालिका वडा नम्बर ७ का बीरबहादुर कुमाल, ३२ वर्षका खेमराज शर्मा, वडा १४ का २३ वर्षका नरेश लामिछाने, र चौरजहारी नगरपालिका –७ का ३८ वर्षका शंकर जैसी पनि पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।
     बिहीबार बेलुका पक्राउ परेका उनीहरुलाई शुक्रबार बिहान सदरमुकाम खलंगा लगिएको छ । मेलैनाउली–तिल्केझार–मनकोट विद्यालय हुँदै मनकोट गाउँ पुग्ने सडक निर्माणको क्रममा मेलैनाउलीमा अवरोध गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए । 
      नेपाली कांग्रेसले भने घटनाप्रति आपत्ति प्रकट गरेको छ । कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले व्यक्तिगत सम्पत्ति क्षति गरेर विकास गर्न नहुने भन्दै सर्वसाधारणको उठिबास हुने गरि सडक निर्माण थालिएकाले स्थानीय प्रतिरोधमा उत्रिएको बताए । उनले नजिकै सडक हुँदाहुँदै व्यक्तिगत सम्पत्ति क्षतिका लागि स्थानीय सरकार लागिपरेको आरोप लगाएका छन् । विज्ञप्ती जारी गरेर सभापति ओलीले सडक निर्माण कार्य तत्काल रोक्न समेत माग गरेका छन् । विज्ञप्तीमा प्रहरीले स्थानीयमाथी लाठी चार्ज गरेर दमन गरेको उल्लेख छ ।
      एक पक्ष पुरानो बाटोलाई निरन्तरता दिनुपर्नेमा देखिएको छ भने अर्को पक्ष नक्साङ्कन गरिएको स्थानबाट नै नयाँ ट्रयाक खोल्नुपर्ने बताउदै आएको छ । नक्साङ्कन गरिएको स्थानबाट सडक निमार्ण नगर्दा कानुनी जटिलता समेत रहेकोले अवरोध गर्ने कार्य सान्दर्भिक नरहेको  नयाँ स्थानबाट ट्रयाक खोल्नुपर्ने पक्षको भनाइ छ । सीमित व्यक्तिको स्वार्थका कारण सडक निमार्ण कार्यमा अवरोध गरिएको उनीहरुको  आरोप छ । आ–आफ्ना अनुकूलका व्याख्या  गरेर विकास निमार्णमा बाधा नपुर्याउन सर्वसाधारणले आग्रह गरेका छन् । 

Program Archive

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP