Listen Live

कर्णाली प्रदेश कप टी–२० क्रिकेटको मुख्यमन्त्रीद्वारा उद्घाटन

कर्णाली प्रदेश कप टी–२० क्रिकेटको मुख्यमन्त्रीद्वारा उद्घाटन
१० पुस २०७५ / न्यूज डेस्क
             रुकुम पश्चिममा  कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट संघ रुकुमले चौरजहारीमा आयोजना गरेको प्रतियोगीताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज उदघाटन गर्नुभएको हो । चौरजहारी नगरपालिका १ नाखिरा स्थित खेल मैदानमा मुख्यमन्त्री शाहीले पानसमा बत्ति बालेर तथा ब्याटले बल हानेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउने र जिल्लालाई क्रिकेटका माध्यमबाट चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 
            प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको खेलकुद विकास लागि प्रदेश सरकारले वातावरण बनाइरहेको बताउनुभयो । खेल स्वास्थ्य, मनोञ्जन र प्रतिस्पर्धाका लागि मात्र नभई आर्थिक विकासको आधार समेत रहेको बताउनुभयो । खेललाई आर्थिक विकासका लागि प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ । क्रिकेट संघले सरकारले गर्ने काम गरेको समेत उहाँको भनाइ छ । निजी क्षेत्रबाट हुने खेलकुदका कार्यक्रममा सहकार्य गर्न सरकार तयार रहेको समेत उहाँले बताउनुभयो ।  
सात जिल्ला भिड्ने 
           मंगलबारबाट सुरु भएको प्रतियोगिता पुस १७ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा कर्णाली प्रदेशका सात जिल्लाको सहभागीता रहको जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक रुकुम सहित, सुर्खेत, जाजरकोट, सल्यान, जुम्ला र कालीकोट जिल्लाका खेलाडीहरुले सहभागीता जनाउँने छन् । सहभागी जिल्लालाई दुई रुपमा विभाजन गरेर खेल खेलाइने छ । समुह ए मा आयोजक रुकुम सहित डोल््पा, सल्यान र कालीकोट रहेका छन् भने समुह बी मा जाजरकोट, सुर्खेत र जुम्ला रहेका छन् । दुई रुपका विजेता र उपविजेता सेमिफाईनल पुग्ने छन् । 
                यो रुकुम पश्चिमको हाल सम्मकै ठुलो क्रिकेट प्रतियोगिता हो । सेवा सुविधा र पुरस्कार राशिका हिसाबले पनि कर्णाली प्रदेशमा आयोजना हुने ठुला प्रतियोगिता स्तरकै भएको जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उप विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । 
               यसका साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटसम्यान, इमर्जिङ प्लेयर र लोकल इमर्जिङ प्लेयरको उपाधि पनि दिईने छ । त्यस्तै प्रतियोगितामा सहभागी सम्पुर्ण टीमलाई खान बस्नको व्यवस्था आयोजकले नै मिलाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब २२ लाख खर्च लाग्ने जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय मान्यता प्राप्त अम्पायर तथा प्राविधिकहरुको सहभागिता रहने छ ।      

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP