Listen Live

नगरप्रमुख शर्माले गरे छोरीलाई विद्यालय भर्ना : सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकतामा

नगरप्रमुख शर्माले गरे छोरीलाई विद्यालय भर्ना : सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकतामा
८ वैशाख, २०७६ / न्यूज डेस्क
जनप्रतिनिधिका छोराछोरी संस्थागत (निजी) विद्यालयमा पढ्छन् भन्ने गुनासो आइरहेको बेला रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा भने त्यसको अपवाद बन्नु भएको छ । शीतल मा.वि. चौरजहारीको कक्षा ७ मा छोरी सुधा शर्मालाई भर्ना गरेपछि शर्मा त्यसको अपवाद बन्नु भएको हो । परिवर्तन आफैंबाट सुरुवात गर्नुपर्छ भन्ने मान्यताका साथ छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेको नगरप्रमुख शर्माले बताउनु भयो । जनप्रतिनिधि, शिक्षक तथा कर्मचारी सबैंका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्छ भन्ने तर कसैले नपढाउने अवस्था अन्त्यको सुरुवात आफूले गरेको उहाँको भनाइ छ । नगरप्रमुखले नै छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेपछि उहाँको प्रशंसा हुन थालेको छ ।  नगरप्रमुखको योजनासहितको झनै थप निगरानी बढ्ने र सामुदायिक विद्यालयप्रतिको भ्रम र समस्या निराकरणका लागि कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
छोरीको भर्नापछि आइतबार शीतल माध्यमिक विद्यालय चौरजहारीमा भर्ना भएका विद्यार्थीहरूलाई पुस्तक वितरण कार्यको शुभारम्भ गर्दै नगरप्रमुख शर्माले सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई नगरपालिकाको पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । निःशुल्क र अनिवार्य शिक्षाको प्रत्याभूतिका साथ गुणस्तरीयता आजको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ ।  सामुदायिक विद्यालयप्रति सकात्मक धारणा बनाउन र सबै पक्ष जिम्मेवार बन्न आग्रह समेत  गर्नुभयो । ‘सरकारी सेवा सबै नराम्रो हुने तर जागिर मात्र सरकारी खान खोज्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ‘जनताका लागि सरकारले गरेको लगानीको महत्व बुझेर सदुपयोगका लागि सबै जिम्मेवार बनौं ।’ नगरप्रमुख विशाल शर्मा सहितको टोली आइतबार नै आधारभूतह विद्यालयहरु स्यालखोला, लामिछानेगाउँ र अमलाटाकुराको विद्यालयमा पाठ्यपुस्तक वितरण तथा अनुगमनका लागि पुगेको थियो । 
शिक्षाकै सन्दर्भमा यस वर्षदेखि चौरजहारी नगरपालिकाभित्रका  संस्थागत विद्यालयहरुले पनि जनक शिक्षा सामग्री केन्द्रबाट मात्र प्रकाशित अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने भएको छ । सक्षम सामुदायिक विद्यालयहरुले पनि अभिभावकको चाहनाअनुसार अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न सक्ने छन् । संस्थागत र साुमदायिक सबै विद्यालयमा एउटै पाठ्यपुस्तक र सन्दर्भसामग्री प्रयोग हुने छ । एउटै पाठ्यपुस्तकको प्रयोगले विद्यालय र विद्यार्थीको स्तर निर्धारणमा सहज हुने विश्वास लिइएको छ । यसले सामुदायिक र संस्थागत विद्यालयबिच विद्यार्थी आकर्षणको प्रतिस्पर्धा पेचिलो बन्ने देखिन्छ । 

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP